मानव अधिकारका रूपमा समय

  6/8/2016 मा  कान्तिपुर राष्ट्रिय दैनिकमा याे लेख प्रकाशन भएकाे छ ।  

Authors: कपिलदेव ढकाल, संजीव उप्रेती 
मानव अधिकारबारे आधुनिक अवधारणा संयुक्त राष्ट्रसंघको स्थापनापछि र खासगरी मानवअधिकारको विश्वव्यापी घोषणापत्र १९४८ जारी भएपछि क्रमिक रूपमा विकसित हुँदै गएको देखिन्छ ।मानवअधिकारले व्यक्तिलाई अधिकार र राज्यका लागि कर्तव्य सिर्जना गर्छ ।

मानवअधिकारको प्रयोगबाट व्यक्ति राज्यको स्वेच्छाचारी कदमबाट आफूलाई पर्न जाने नकारात्मक असर रोक्न सक्षम बन्छ । विभिन्न देशले आ–आफ्नो देशको संविधान र कानुनमार्फत मानवअधिकार संरक्षण गरेका छन् ।

नेपालमा संविधान तथा कानुनमा पनि मानवअधिकारका विषयहरूलाई सम्बोधन गरिएको छ । नेपालको संविधानको मौलिक हक खण्डमा मानवअधिकारबारे विश्वव्यापी घोषणापत्रमा उल्लेख गरिएका व्यवस्थालाई समावेश गरिएको छ ।

मानवअधिकार आयोग ऐन, २०५३ ले मानवअधिकार भन्नाले व्यक्तिको जीवन, स्वतन्त्रता, समानता र मर्यादासँग सम्बन्धित संविधान तथा अन्य प्रचलित कानुनद्वारा प्रदान गरिएका अधिकार तथा नेपाल पक्ष भएको मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा निहित अधिकार सम्झनुपर्छ भनी परिभाषा गरेको छ ।

मानवअधिकारको जग जीवन, स्वतन्त्रता, समानता र मर्यादामा निहित छ । मानवअधिकारको सम्मान र संरक्षण गर्न नसक्दा द्वन्द्वलाई रोक्न सकिँदैन भन्ने निचोडका आधारमा मानवअधिकारको विश्वव्यापी घोषणापत्र– १९४८ आएको देखिन्छ ।

अन्तर्राष्ट्रिय मानवअधिकार कानुनको रूपमा स्थापित भएका नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र–१९६६, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र– १९६६, सबै किसिमका जातीय भेदभाव उन्मूलन गर्ने सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि– १९६५ जस्ता अन्तर्राष्ट्रिय दस्तावेजहरूले समेत मानवअधिकारको सम्मान र संरक्षणमा जोड दिएको देखिन्छ ।

समय
मानवजीवन आफैमा समयको अर्को रूप भएकाले जीवन, स्वतन्त्रता, समानता र मर्यादाको सदुपयोग मानवले समयमै प्राप्त गर्न पाउनुपर्छ । अर्को शब्दमा भन्दा मानवअधिकारको अवधारणालाई समयबाट छुट्याउन मिल्दैन । समयको सीमा मानवअधिकारको परिभाषाभित्र पर्नुपर्छ ।

मानिसको जीवनलाई चक्रिय रूपमा हेर्ने हो भने समय नै मानिसको जीवन हो । मानिस जेजति बाँच्छ, त्यो उसको आयु हो । मानिसले आफू बाँच्ने आयुभित्रै आफ्ना अधिकारहरू प्रयोग गर्न पाउनुपर्छ । नागरिकलाई राज्यबाट प्रदान गरिने उपचारहरू समयमै पाउने नागरिकको अधिकार हो ।

अवैज्ञानिक रूपमा समयसँग खेलवाड गर्ने अधिकार कसैलाई पनि दिनु हुँदैन । समयमाथि अवैज्ञानिक रूपमा भएको खेलवाडलाई मानवअधिकार हननको रूपमा लिनुपर्छ । अधिकारलाई प्रयोग गर्न पाउनुपर्छ र कर्तव्यलाई इमानदारीपूर्वक पालना गर्नुपर्छ भन्ने विधिशास्त्रीय मान्यता रहेको छ ।

समयको उल्लेख गर्ने तर समयभित्र नागरिकले सेवा–सुविधा नपाउने हो भने उल्लेख भएको समयको कुनै औचित्य रहँदैन । कुनै व्यक्तिलाई हदम्याद, म्याद र विलम्ब देखाएर कानुनी सेवा–सुविधा लिन बञ्चित गरिन्छ भने कुनै व्यक्तिलाई समयको म्यादभित्र काम नगर्ने छुट दिन मिल्दैन ।

समय उल्लेख नगरी कुनै पनि निकायलाई अनिश्चित कालसम्मको अधिकार पनि प्रदान गर्न मिल्दैन । कुनै व्यक्तिले तोकिएको समयभित्र कानुनी उपचार नखोजे उपचारबाट बञ्चित गरिन्छ भने सो व्यक्तिले तोकिएको समयभित्र सेवा–सुविधा लिन पनि पाउनुपर्छ ।

समयको एउटा पाटो कर्तव्यको रूपमा बाध्यात्मक रूपमा लागु हुने, तर त्यही समयको अर्को पाटो अधिकारको रूपमा प्रयोग नहुने हो भने मानवअधिकारको सम्मान हुनसक्दैन । व्यक्तिका लागि समयको हदम्याद, म्याद, विलम्ब लाग्ने तर राज्यका लागि समयको हदम्याद, म्याद र विलम्ब नलाग्ने भन्ने हुँदैन ।

जे गरे पनि हुन्छ ?
नेपालमा विकास बजेट समयमै कहिल्यै पूर्णरूपमा खर्च गरिएको छैन । अदालतहरूले तोकिएको समयमा न्यायनिरुपण गरेका छैनन् । विश्वविद्यालयहरूले तोकिएको समयमा विद्यार्थीको परीक्षा र परीक्षाफल प्रकाशन गरेका छैनन् । संसदीय सुनवाइ समितिले समयमा आफ्नो काम नगर्दा संवैधानिक निकायमा नियुक्ति रोकिएको छ ।

सरकारी निकायहरू समय दुरुपयोग गर्ने आधिकारिक निकाय होइनन् भने अदालतबाट न्याय खोज्ने नागरिकका मुद्दा टुंगिन २० औं वर्ष किन लाग्छ ? स्वदेशमै पढ्ने विद्यार्थीलाई २ वर्षको पाठ्यक्रम पुरा गर्न ४ वर्ष किन लाग्छ ?

संसदीय सुनवाइ समितिले नियमावली नबनाएर राज्यका अंगलाई नै बेकम्मा बनाउने अधिकार कहाँबाट आयो ? समयमै विकास बजेट खर्च गर्न सकिँदैन भन्ने नजिर कहाँ छ ? समयमै राजदूत नियुक्त गर्न सकिँदैन भनेर कुन संविधान, कानुन र अन्तर्राष्ट्रिय दस्तावेजले उल्लेख गरेको छ ? यस्ता विषयको जवाफ नागरिकलाई राज्यले दिनैपर्छ ।

नागरिकले तिरेको करबाट आफ्नो खल्ती भर्ने र राज्य सञ्चालन गर्नेहरूले बुझ्नैपर्छ, नागरिकहरू शासकहरूको सीमित स्वार्थपूर्तिका लागि भर्‍याङ बनाइने औजार होइनन् । नागरिकले आफूले तिरेको करको सदुपयोग चाहेका छन् ।

राज्यले नागरिकलाई प्रदान गर्ने सेवा, सुविधा र विकास निर्माणका कार्यहरू वैज्ञानिक समयसीमाको परिधिभित्रैबाट उपभोग गर्न खोजेका छन् ।

नेपाल किन बनेन ?
विकास बजेट समयमा खर्च भएको छैन । राज्यले जनतालाई दिनुपर्ने सुविधा समयमै दिनसकेको छैन ।

विश्वविद्यालयहरूले लाखौं विद्यार्थीको भविष्यमाथि खेलवाड गर्दै २ वर्षको पाठ्यक्रम पुरा गर्न ४ वर्ष लगाएका छन् । विकास निर्माणका आयोजनाहरू समयमा पुरा भएका छैनन् । विकास निर्माणका परियोजनामा समयको दुरुपयोग गरी पुनर्मूल्यांकनका नाममा जनताले तिरेको करको अर्बौं अनियमितता गरिन्छ ।

बुद्धिजीवीहरूले समयको दुरुपयोग रोक्न कलम चलाएका छैनन् । विश्वविद्यालयहरूले समयलाई अधिकार भनेर पढाएका छैनन् । आम मानिसले समयको दुरुपयोगलाई नेपाली समय भनिरहेका छन् । प्रकृति समयको गतिमा चल्छ ।

समयको सदुपयोगकै कारण मानिस धनी भएका हुन् । समयको अमूल्य महत्त्वलाई नजरअन्दाज गर्ने आममनोविज्ञान र राज्य भएसम्म नेपालको विकास सम्भव छैन । समृद्ध नेपाल निर्माण नहुनुको एउटा प्रमुख कारण समयको दुरुपयोग पनि हो ।

अन्त्यमा,
कानुनमा न्यायनिरुपण गर्नुपर्ने समयसिमा उल्लेख गरिएको छ । तर सो समयमा न्याय सम्पादन हुनसकेको छैन । न्यायाधीशको संख्या, सिफारिस र नियुक्ति आदिजस्ता विभिन्न बहाना देखाएर मानवअधिकार उल्लंघन गरिएको छ ।

कानुनको अज्ञानता क्षम्य हुँदैन भन्ने सिद्धान्त प्रतिपादन गर्ने न्यायालयबाटै यो वा त्यो बहानामा न्यायनिरुपणमा अनावश्यक ढिलाइ गर्नु न्यायसंगत हुँदैन । समयलाई मानवअधिकारको रूपमा परिभाषित गर्न जरुरी देखिन्छ ।

समयको दुरुपयोग गरिएको छ भने सो समयको क्षतिपूर्ति पाउने व्यवस्था गरिनुपर्छ । तोकिएको काम, सिफारिस र नियुक्ति गर्नका लागि सम्बन्धित निकायलाई वैज्ञानिक समय अवश्य दिनुपर्छ ।

तर सो समयभित्र सिफारिस वा नियुक्त गर्न नसक्ने निकायलाई अधिकार दुरुपयोग गरेको ठहर गरी सजाय गर्नुपर्ने समेत उत्तिकै आवश्यक छ । हालसम्म समयलाई अधिकारका रूपमा कानुनत: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा व्यवस्था गरिएको छैन । त्यसैले समयको दुरुपयोग रोक्न सकिएको छैन ।

यस्तो परिवेशमा नेपालले समयलाई मानवअधिकारको रूपमा सम्बोधन गर्दै अन्तर्राष्ट्रिय दस्तावेजमा परिभाषित गराउन आवश्यक छ । मानवअधिकारको क्षेत्रमा नितान्त नवीन यो अवधारणाले खासगरी अल्पविकसित देशहरूको समृद्धिको सपनालाई साकार पार्न विशेष भूमिका खेल्न सक्छ ।